नियम ३०
अन्तशुल्क टिकट दस्तुर लाग्ने
(१) नेपालभित्र उत्पादन हुने वा पैठारी हुने मदिरा रचुरोटको बिक्री तथा पैठारी गर्दा मदिराको प्रत्येक बोतलमा र चुरोटको  प्रत्येक बट्टामा अन्तशुल्क टिकट लगाउनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बियर उत्पादन गर्ने प्रतिष्ठानले तयारी बियर अन्तिम रूपमा बोतलबन्दी गर्दा विभाग वा कार्यालयबाट
सिलबन्दी गरिएको स्थायी रूपमा जडित विद्युतीय सूचना सम्प्रेषण क्षमता भएको अटो फ्लोमिटर सहितको पाइपबाट मात्र बोतलबन्दी गर्ने गरी विभागले तोक्नेछ । त्यसरी बोतलबन्दी गरेपछि बिभागले तोकेबमोजिम प्रतिष्ठानले प्रत्येक बोतलको बिर्कोमा पर्ने गरी वा कार्टुनमा अन्तःशुल्क टिकट टाँसी गोदाममा भण्डारण गर्नु पर्नेछ ।
(२क) सिगारको प्रत्येक बट्टामा र मुखमा राख्ने सूर्ति, खैनी, गुट्खा, निकोटिनयुक्त वा निकोटिन रहित पानमसला, हुक्का फ्लेवर तथा यस्तै अन्य सूर्तिजन्य पर्दाथहरुको प्रत्येक प्याकेट, बट्टा वा पोकामा विभागले तोके बमोजिम अन्तशुल्क टिकट लगाउनु पर्नेछ ।
(३) उपनियम (१), (२) र २(क) बमोजिम लगाइने अन्तशुल्क टिकट विभागले तोकेको दस्तुर तिरी आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट खरिद
गर्नु पर्नेछ । त्यस्तो टिकट विभागले तोके बमोजिम अंकित गरी अन्तशुल्क लाग्ने वस्तु बिक्री गर्नु पर्नेछ ।
(४) करपाटीको दायाँ कुनामा कार्यालयले उपलब्ध गराएको इजाजत चिह्न(स्टीकर) सबैले देख्ने ठाउँमा टाँसी राख्नु पर्नेछ ।
(५) अन्तःशुल्क लाग्ने वस्तुको उत्पादक प्रतिष्ठान वा पैठारीकर्तालाई उपलब्ध गराइएका अन्तःशुल्क टिकट प्रयोग गर्ने सिलसिलामा च्यातिएमा वा बिग्रिएमा अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले भौतिक परीक्षण गरी प्रमाणित गरेको आधारमा कार्यालयले त्यस्ता अन्त:शुल्क टिकट प्रतिस्थापन गर्न सक्नेछ। त्यसरी च्यातिएको वा बिग्रिएको अन्तःशुल्क टिकट विभागले निर्धारण गरे बमोजिम सम्बन्धित कार्यालयले नष्ट गर्नु पर्नेछ।
(६) उपिनयम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि पैठारीकर्तालाई उपलव्ध गराइएको अन्तःशुल्क टिकट प्रयोग गर्ने सिलसिलामा च्यातिएमा वा बिग्रिएमा त्यस्तो पैठारीकर्ता वा उत्पादक कम्पनीले त्यस्तो टिकट सिलबन्दी गरी सम्बन्धित कार्यालयमा फिर्ता पठाउनु पर्नेछ। त्यसरी फिर्ता प्राप्त भएका अन्तःशुल्क टिकट विभागले निर्धारण गरे बमोजिम, सम्बन्धित कार्यालयले नष्ट गर्नेछ।